
म्याग्दी–मुस्ताङ सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
सडक ७६ किलोमिटर दूरीमा फैलिएको भएपनि नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग र डोजरको सहायताले ठूला ढुङ्गा फुटाएर राति १० बजे सडक खोलिएको छ। घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीका अनुसार,
“बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका प्राविधिक कर्मचारी, नेपाली सेना र सुरक्षाकर्मीको टोलीले रातिसम्म काम गरेर सडक खुलाएका हौँ। अब मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।”
सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका ट्रकहरू घाँसामै रोकिएका थिए।
सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक अब गन्तव्यतर्फ लाग्न सक्ने भएका छन्।
सिंधुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि, दसैंका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएको छ, जसका कारण बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको छ।