
तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला (दिया) बनाउन निकै व्यस्त भएका छन्। भक्तपुरको प्रसिद्ध Pottery Square क्षेत्रमा बिहानदेखि साँझसम्म माटो सुकाउने, घुमाउने र पालामा रङ लगाउने कामले चहलपहल बढेको छ।
स्थानीय कुम्हार विनोदकुमार प्रजापतिका अनुसार, तिहारका लागि माटोको पालाको माग हरेक वर्षजस्तै यसपालि पनि अत्यधिक छ। “पाला माग अनुसार बनाउनै हम्मे परेको छ,” उनले बताए।
भक्तपुरमा बनेका माटोका पाला काठमाडौं उपत्यकासँगै काभ्रे, चितवन, नुवाकोट, धादिङ, पोखरा लगायत स्थानमा पनि पठाइन्छ। बजारमा प्लास्टिकका दियोहरू आइपुगेका भए पनि परम्परागत माटोका पालाको मागमा कुनै कमी आएको छैन।
प्रजापतिहरूका अनुसार, यो वर्ष माटोका पालाको मूल्य अघिल्ला वर्षजस्तै नै रहेको छ। तिहारपछि उनीहरू गमला, खुत्रुके र अन्य सजावटी माटाका सामग्री पनि बनाउने गर्छन्।