Join our Channel

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, ८ करोड ५५ लाख बिगो माग

६१ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरा विरुद्ध मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र सजायको माग गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले महरालाई ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको थियो।

महराविरुद्ध कानुनी प्रक्रिया सुरु

सुन तस्करी प्रकरणमा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि महराको बयान लिएको थियो।
महरा २०८० साल चैत्र ५ गते भैरहवाबाट पक्राउ परेका थिए, तर हाजिरी जमानतमा रिहा भएका थिए।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको थियो।

उक्त प्रकरणमा उनका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका थिए।

जाँचबुझ आयोगको प्रतिवेदनमा महरा संलग्न

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी अनुसन्धान जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको थियो।
अनुसन्धानका क्रममा उनले ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक लाभ लिएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

त्यसैले भन्सार ऐन २०६४आपराधिक लाभ तथा संगठित अपराध ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो।

घटना के हो ?

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङ दुबईबाट काठमाडौं आउँदा उनले ल्याएको भेपको ७३ बट्टा (७३० थान) मा करिब ९ किलो सुन लुकाइएको थियो।
भन्सार जाँचमा शंका लागेपछि सामान गोदाममा राखिएको थियो, जसको जिम्मा त्यतिबेला भन्सार प्रशासक अरुण पोखरेल सँग थियो।

अनुसन्धानमा महरा पिता–पुत्रले भेप छुटाउन भन्सार कर्मचारी र बिचौलियासँग बारम्बार सम्पर्क गरेको देखिएको छ।
सीआईबीको रिपोर्ट अनुसार, कृष्णबहादुर महराले २२ पटक र उनका छोरा राहुलले २३४ पटक फोन सम्पर्क गरेका थिए।

अघिल्ला मुद्दाहरू र प्रतिवादी

२०८० असोज २४ गते सीआईबीले राहुल महरा र चार जनाविरुद्ध मुद्दा दायर गरिसकेको थियो —
लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ, निमा गुरुङ र राहुल महरा प्रतिवादी बनेका थिए।

पछि, २०८१ पुस १९ गते ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भयो, जसमा राहुल महरा, नासु रेवन्त खड्का, दिनेश खड्का, रोजन राउत, अमृत कार्की, रामकेशव थापा क्षेत्री, ललित थापा, वेदप्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मगर, बेल्जियम नागरिक दावा छिरिङ र प्रेरणा राउत सामेल थिए।

तर त्यतिबेला कृष्णबहादुर महरामाथि मुद्दा चलाइएको थिएन। अब भने सरकारी वकिलको कार्यालयले प्रत्यक्ष मुद्दा दायर गरेको छ।

Leave a comment