
भोजपुरका किसानहरू पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन्। एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको छ।
परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानहरूले मौरीपालनलाई आय आर्जनको प्रमुख साधन बनाउन थालेका छन्। टेम्केमैयुङ, पौवादुङ, रामप्रसादराई गाउँपालिकामा प्रायः स्थानीय किसान मौरीपालनमा संलग्न छन्।
विशेष गरी रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ। यहाँका किसान नजिकै प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीका लागि उपयुक्त मौसमको फाइदा उठाउँदै व्यावसायिक मौरीपालन गर्दै आएका छन्।
स्थानीय सरकारको पहलले मौरीपालन अझ सहज भएको छ। गाउँपालिका अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ। तालिममा सहभागीहरूले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह, रोग व्यवस्थापन र मह संकलन गर्ने प्रविधि सिकेका छन्।
स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा उदाहरणीय पात्र हुन्। तालिम लिएपछि उनी आधुनिक घार निर्माणमा जुटेका छन् र अहिले ३५ वटा मौरीघार चलाइरहेका छन्। उनले भने,
“पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन कम हुन्थ्यो, अहिले आधुनिक घारमा राख्दा उत्पादन बढी छ। यसले मेरो आय आर्जनमा ठूलो परिवर्तन ल्याएको छ।”
गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ।
“मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध काम भइरहेको छ। किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छन्। यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रलाई सबल बनाउनेछ।”
किसानहरूले वैदेशिक रोजगारीको विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले सिर्जना गरेको बताए। उनीहरूले बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभर मात्र नभई विदेशमा पनि पु¥याउन सकिने विश्वास व्यक्त गरेका छन्।