
सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले मानवीय आधारमा विपिन जोशीका परिवारलाई रु. २ लाख सहयोग गर्न लागिएको जानकारी दिएका छन्। यसअघि प्रदेश मन्त्रिपरिषद्को बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका नेपालीहरूको परिवारलाई प्रति परिवार दुई लाखका दरले सहायता रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार, पहिले सात जना मृतकका परिवारले सहयोग प्राप्त गरिसकेका छन्, भने अब विपिन जोशीका परिवारलाई पनि उक्त सहायता रकम हस्तान्तरण गरिने मुख्यमन्त्री शाहले बताए।
विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन सकेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नशिपका लागि गएका थिए। उक्त कार्यक्रमअन्तर्गत गएका दश जना नेपाली विद्यार्थीमध्ये जोशी हमासको आक्रमणमा परी मृत्यु भएका हुन्।
मुख्यमन्त्री शाहले जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
यसैबीच, विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी विमानस्थलमा ल्याइएको छ। पार्थिव शरीरलाई त्यहाँबाट कञ्चनपुर लगिएको जनाइएको छ।