
नेपालमै प्रसिद्ध वीरगन्जको घडीअर्वा पोखरी छठघाटको छठपूजाका लागि सम्पूर्ण तयारी पुरा भएको छ। छठपूजा व्यवस्थापन समितिले आइतबार साँझ पत्रकार सम्मेलन गरेर छठघाटको व्यवस्थापन र सजावटको जानकारी गराएको छ।
समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताका अनुसार यसपाली छठघाटको सजावट र व्यवस्थापनमा करिब २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्चको विवरण अनुसार:
- टेण्टपण्डाल सजावट: ९ लाख
- परिसर बाहिरको बत्ती सजावट: ३ लाख
- भिडियोग्राफी: ३० हजार
- पुरस्कार: ५ लाख ५० हजार
- सरसफाइ: १ लाख ५ हजार
सुरक्षा उपसमितिका संयोजक मुन्ना साहले जानकारी दिनुभयो कि ब्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी ११० सुरक्षाकर्मी परिचालन गरिनेछ। साथै, घडीअर्वा स्पोर्ट क्लबका ६० जना स्वयंसेवकले सहयोग गर्नेछन्। छठघाट परिसरमा २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ भने सादा पोसाकमा प्रहरी परिचालन हुने पनि साहले बताए।
गत वर्षको छठमा छठघाट सजावट र व्यवस्थापनमा १९ लाख १४ हजार ८१२ रुपैयाँ खर्च भएको थियो। खर्च कटाएर आम्दानीबाट २ लाख ९३ हजार २७२ रुपैयाँ बचत भएको समितिले जनाएको छ।