Join our Channel

तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ, कांग्रेसले सहयोग गर्छ : विश्वप्रकाश शर्मा

तोकिएकै मितिमा निर्वाचन हुनुपर्छ, कांग्रेसले सहयोग गर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उनले मुलुकलाई संवैधानिक र राजनीतिक निकास दिन फागुन २१ गते हुने भनिएको निर्वाचन समयमै सम्पन्न गर्न आवश्यक रहेको बताए।

शर्माले भने, “राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना र स्थानीय तहलाई निर्वाचनकै माध्यमबाट रिफ्रेस गर्न सकिने भएकाले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्छ। यसका लागि कांग्रेसले उचित वातावरण बनाउन सहयोग गर्नेछ।”

कांग्रेसको समर्थन सरकारलाई

मकवानपुरमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त कांग्रेस पार्टी कार्यालय अवलोकनपछि उनले सञ्चारकर्मीहरूसँग भने, अन्तरिम सरकार असफल भए लोकतन्त्रमै खतरा पर्ने भएकाले कांग्रेसले सरकारलाई सफल बनाउन सहयोग गर्ने तयारीमा छ।

जेनजी युवाप्रति असन्तुष्टि र सुझाव

शर्माले वर्तमान सरकारमा योग्य व्यक्तिहरू मन्त्री बने पनि जेनजी पुस्ताको सहभागिता नभएकोप्रति असन्तुष्टि जनाए। उनले मन्त्रिपरिषद्मा जेनजी पुस्तालाई पनि समेट्नुपर्ने सुझाव दिए।

उनले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड युवाहरूको भावनाअनुसार नभएको उल्लेख गर्दै, दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।

कांग्रेसमा सुधारको संकेत

महामन्त्री शर्माले पछिल्ला घटनाले राजनीतिक दललाई परिवर्तनको सन्देश दिएको बताए। फरक विचारलाई सम्बोधन गर्दै साझा धारणा बनाउन कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको उनले जानकारी दिए।

उनका अनुसार, कांग्रेसले विधान संशोधनमार्फत जेनजी पुस्तालाई प्रतिनिधित्व दिलाउने योजना अघि सार्दैछ।

देउवा प्रकरणमा निष्पक्ष छानबिनको माग

शर्माले कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा पैसा भेटिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे पनि टिप्पणी गरे। उनले भने, “भिडियोका आधारमा मात्रै धारणा बनाउन हुँदैन। यस विषयमा निष्पक्ष अनुसन्धान हुनुपर्छ र सत्यतथ्य बाहिर ल्याउनुपर्छ।”

Leave a comment