
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो सम्पूर्ण सम्पत्ति सार्वजनिक छानबिन गर्न माग गरेका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले राजनीतिक नेतृत्वमा रहेका सबैलाई पारदर्शी बनाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्न आग्रह गरे।
शर्माले भने,
“अहिलेसम्मको राजनीतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ। तर अपिल गर्छु – मेरो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस्। राजनीतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ।”
चारवटा आयोग गठनको माग
शर्माले जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्न सरकारलाई अविलम्ब चारवटा समिति/आयोग गठन गर्न आग्रह गरे:
- न्यायिक आयोग – भदौ २३ गतेको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको छानबिनका लागि।
- उच्चस्तरीय आयोग – भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ, तोडफोड र आगजनी छानबिनका लागि।
- शक्तिशाली आयोग – विभिन्न भ्रष्टाचारका मुद्दाहरूको छानबिनका लागि।
- उच्चस्तरीय सम्पत्ति छानबिन आयोग – २०४६ यता उच्च पदमा पुगेका सबै नेताहरूको सम्पत्तिको छानबिनका लागि।
जेन–जी आन्दोलनको समर्थन
महामन्त्री शर्माले जेन–जी आन्दोलनलाई “जायज मागसहितको आन्दोलन” भन्दै यसको क्रममा भएका अमानवीय घटनाहरूको छानबिन अनिवार्य गर्नुपर्नेमा जोड दिए।