Join our Channel

चीनले दियो ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री नेपाललाई

चीनले दियो ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री नेपाललाई

चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले नेपाललाई ठूलो मात्रामा खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग गरेको छ। उक्त सामग्री नेपालका खेलाडीहरूको प्रशिक्षणमा उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

मंगलबार अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङलाई औपचारिक रूपमा सामग्री हस्तान्तरण गरे।

कुन सामग्री प्रदान गरियो?

८५ लाख रुपैयाँ बराबरको ३४ प्रकारका खेल सामग्री र स्वास्थ्य परीक्षण उपकरण प्रदान गरिएको हो। यस्ता उपकरणले खेलाडीको शारीरिक र मानसिक दक्षता मूल्यांकन गर्न सहयोग पुर्‍याउने बताइएको छ।

राखेपको प्रतिक्रिया

राखेप उपाध्यक्ष ध्रुव आचार्यले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भने:

“यी सामग्रीहरूले खेलाडीको दक्षता वृद्धिमा ठूलो योगदान पुर्‍याउनेछन्।”

सदस्य–सचिव टंकलाल घिसिङले चीनसँगको सकारात्मक र सशक्त सम्बन्धमा जोड दिँदै भने:

“अबको १३ महिनापछि हुन लागेको २० औं एसियाली खेलकुदको तयारीका लागि समय पेचिलो छ। हामी मिसन–२०२६ अन्तर्गत दृढ संकल्पसाथ अगाडि बढ्नेछौं।”

चिनियाँ प्रतिनिधिको भनाइ

वाङ झिनले सहयोगले नेपाली खेलकुद क्षेत्रलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले विगतमा पनि खेल क्षेत्रमा चीनले सहयोग गर्दै आएको स्मरण गराए।

मिसन–२०२६ तयारी र परीक्षण

सदस्य–सचिव घिसिङका अनुसार, अबको दुई हप्ताभित्र राष्ट्रिय टिमका खेलाडीहरूको शारीरिक तथा खेलगत परीक्षण गरिनेछ। त्यसपछि खेल संघसँग समन्वय गरेर प्रशिक्षण अघि बढाइने योजना छ।

Leave a comment