Join our Channel

चितवनमा जापानिज इन्सेफलाइटिसबाट ३१.२५% संक्रमितको मृत्यु

चितवनमा जापानिज इन्सेफलाइटिसबाट ३१.२५% संक्रमितको मृत्यु

जापानिज इन्सेफलाइटिस (जेई)बाट संक्रमितमध्ये चितवनमा ३१ दशमलव २५ प्रतिशतको निधन भएको छ। भरतपुर जनस्वास्थ्य कार्यालयले शुक्रबार जारी गरेको विवरण अनुसार यस आर्थिक वर्षमा हालसम्म १६ जनामा जेई संक्रमण पुष्टि भएको छ, जसमध्ये पाँच जनाको मृत्यु भएको छ।

जेई संक्रमितमा सामान्यतया ३० प्रतिशतसम्म मृत्यु हुने अनुमान गरिएको भए पनि चितवनमा यो संख्या केही बढी देखिएको छ। जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार भदौ २० सम्म संक्रमितको संख्या १६ पुगेको थियो। उनीहरूले नमुना काठमाडौँ पठाएका छन् तर भदौ २० पछि परीक्षण रिपोर्ट अझै प्राप्त भएको छैन।

चितवनका भरतपुर महानगरपालिकामा ६ जना, खैरहनीमा ४ जना, माडी र रत्ननगर नगरपालिकामा एक–एक जना, राप्ती र कालिका नगरपालिकामा दुई–दुई जना संक्रमित रहेका छन्। संक्रमितमध्ये भरतपुर र राप्तीका दुई–दुई जना र कालिका नगरपालिकाका एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक जना ४२ वर्षको, दुई जना ७० वर्षको, एक जना ८१ वर्ष र एक जना ८९ वर्षका छन्। १५ वर्षमुनिका बालबालिका बढी जोखिममा पर्ने बताइन्छ। हाल चितवनमा संक्रमितमध्ये दुई जना मात्र १५ वर्षमुनिका छन्। १५–६० वर्षका पाँच जना र ६० वर्षभन्दा माथिका अरू नौ जना छन्।

जेई भाइरस मस्तिष्कलाई संक्रमित बनाउँछ र संक्रमित लामखुट्टेको टोकाइबाट सर्छ। संक्रमण भएपछि ज्वरो, टाउको दुखाइ, वाकवाकी, वान्ता र कमजोरी देखा पर्न सक्छ।

गम्भीर लक्षणमा १०२ डिग्रीभन्दा बढी ज्वरो, टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन, अर्धचेत वा बेहोस हुनु, शरीर कमजोर हुनु, पक्षघात वा कोमामा जानु पर्ने उल्लेख छ। परिवार कल्याण महाशाखाका अनुसार गम्भीर अवस्थामा मृत्यु हुने जोखिम ३० प्रतिशतसम्म हुन्छ।

जेई संक्रमित लामखुट्टे मुख्यत: साँझपख र झिसमिसे बिहान सक्रिय हुन्छन्। धानखेत, स्थिर पानी, पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँस फार्म वरिपरि जोखिम बढी हुन्छ। भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले लामखुट्टे नियन्त्रण र टोकाइबाट बच्न सतर्क रहन आग्रह गरेका छन्। कात्तिक महिनासम्म जोखिम कायम रहने भएकाले सजगता आवश्यक छ।

Leave a comment