Join our Channel

महाधिवेशन कार्यतालिका विवादले नेपाली कांग्रेसको बैठक स्थगित, नेताहरूबीच सहमति जुटेन

महाधिवेशन कार्यतालिका विवादले नेपाली कांग्रेसको बैठक स्थगित, नेताहरूबीच सहमति जुटेन

नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन कार्यतालिकामा सहमति नजुटेकै कारण स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक अचानक स्थगित गरिएको हो।

पार्टीभित्र महाधिवेशन कहिले गर्ने भन्ने विषयमा नेताहरूबीच गम्भीर मतभेद देखिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर कार्यतालिका पेस गर्न माग गरेका थिए। तर, तीन नेताबीच सहमति नजुटेपछि बैठक आइतबारसम्मका लागि सारिएको हो।

महाधिवेशन कहिले गर्ने भन्नेमा दुई धार

थापा र शर्माले मंसिरमै नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। उनीहरूका अनुसार मंसिरमै सम्भव नभए पुस १६ देखि १९ गतेसम्म विशेष महाधिवेशन गर्न सकिन्छ।
तर, संस्थापन पक्ष भने फागुनको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने तयारीमा छ।

कार्यवाहक सभापति खड्काले भने वडा र पालिका तहसम्मको अधिवेशन मंसिरभित्र सकाउने र बाँकी चुनावपछि गर्ने प्रस्ताव राखेका छन्। तर, महामन्त्रीद्वय उक्त प्रस्तावमा सहमत छैनन्। उनीहरूका अनुसार “निर्वाचन कहिले हुने निश्चित छैन, त्यसैले चुनावलाई देखाएर महाधिवेशन रोक्नु अनुचित हो।”

शेखर कोइराला निकट समूह पनि सक्रिय

इतर पक्षका नेता शेखर कोइरालाले पनि आफू निकट पदाधिकारीहरूसँग छलफल गरी पुस १६ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। कोइरालाले भने,

“पार्टी फुट्ने स्थिति आउन नदिई मंसिरबाट वडा अधिवेशन सुरु गरौं, महाधिवेशन पुस वा माघसम्म सकिन्छ।”

सहमहामन्त्री जीवन परियारले पनि निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने साझा धारणा रहेको बताएका छन्। उनका अनुसार,

“निर्वाचन फागुनमा हुने वा नहुने निश्चित छैन। त्यसैले सबै तहका अधिवेशन निर्वाचनअघि नै सम्पन्न हुनुपर्छ।”

महामन्त्री शर्माको चार विकल्प

महामन्त्री विश्वप्रकाश शर्माले खड्कालाई चार विकल्पसहितको प्रस्ताव पेस गरेका थिएः

  1. मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने,
  2. विधानको १७(२) बमोजिम मंसिर मसान्तभित्र विशेष महाधिवेशन बोलाउने,
  3. ४०% महाधिवेशन प्रतिनिधिको लिखित मागका आधारमा विशेष महाधिवेशन गर्ने,
  4. थप समय लिएर पुस १६–१९ भित्र नियमित महाधिवेशन आयोजना गर्ने।

तर, सहमति नजुटेपछि बिहीबार थापाले बैठक बहिष्कार गरेका थिए। कार्यवाहक सभापति खड्काले भने “केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने” अडान लिएका छन्।

Leave a comment