Join our Channel

बागलुङको दव्ल्याङ पहिरोले कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध, आवागमन ठप्प

बागलुङको दव्ल्याङ पहिरोले कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध, आवागमन ठप्प

बागलुङ नगरपालिका–१० स्थित दव्ल्याङमा आएको ठूलो पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण आएको पहिरोले सो क्षेत्रको मुख्य सडक बगाएको हो।

स्थानीय प्रहरीका अनुसार पहिरोको कारण बागलुङ सदरमुकामबाट जिल्लाको दक्षिण भागतर्फ जाने सम्पूर्ण सवारी आवागमन ठप्प भएको छ। प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले जानकारी दिँदै भने, “करिडोर हुँदै यात्रा गरिरहेका लामो दूरीका सवारीसाधनहरू समेत पहिरो नजिकै रोकिएका छन्।”

गत चार वर्षदेखि प्रत्येक वर्षायाममा दव्ल्याङ क्षेत्रमा पहिरोको समस्या दोहोरिइरहेको छ। सामान्य वर्षातमै पहिरो खस्ने हुँदा कालीगण्डकी करिडोर बारम्बार अवरुद्ध हुने गरेको हो।

हाल बागलुङ–बलेवा विमानस्थल खण्डमा कालोपत्रे निर्माण कार्य चलिरहेको छ। तर पहिरोका कारण धेरै ठाउँमा सडकमा क्षति पुगेको छ। निर्माण कार्य गरिरहेको बिडारी निर्माण सेवाले पहिरो हटाउने र बगाएका संरचना पुनर्निर्माण गर्ने प्रयास गरिरहेको छ। तर सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।

Leave a comment