Join our Channel

भण्डारीको एमालेमा सक्रियता : ओलीको नेतृत्व चुनौतीमा, ७० वर्षे उमेरहद फेरि विवादको शिखरमा

भण्डारीको एमालेमा सक्रियता : ओलीको नेतृत्व चुनौतीमा, ७० वर्षे उमेरहद फेरि विवादको शिखरमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः एमाले राजनीतिमा सक्रिय हुन लागेकी छन्। एमालेको आगामी विधान महाधिवेशन २०८१ भदौ २०-२२ मा हुने निर्णयसँगै, ७० वर्षे उमेरहददुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाउने व्यवस्था पुनः बहसको केन्द्रमा आएको छ।

भण्डारी हाल ६४ वर्षकी छिन्। यदि विधान महाधिवेशनमा ७० वर्षे उमेरहद कायम भयो भने, वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित अन्य चारजना शीर्ष नेताहरूले पुनः उम्मेदवारी दिन नपाउने अवस्था आउनेछ। यस सन्दर्भमा भण्डारी पार्टी नेतृत्वको दौडमा अघि सर्ने तयारीमा रहेको भण्डारी निकट स्रोतले जानकारी दिएको छ।

ओली र भण्डारीबीच भेटवार्ता

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा, भण्डारीले आफू एमालेमा फेरि सक्रिय हुन चाहेको अभिव्यक्ति दिएकी हुन्। उनले ओलीलाई एमालेमा आफ्नो दिर्घकालीन योगदान सम्झाउँदै पार्टीभित्रको असन्तुष्टिको अन्त्य गर्न सक्रिय हुने बताएकी छन्।

ओलीले भने तत्काल कुनै ठोस प्रतिक्रिया नदिए पनि, “सल्लाह गरौंला, समूह नबनाऊ” भन्ने संकेत दिएका छन्। ओली पक्षका अनुसार पार्टीभित्र दुई नेतालाई देखाएर खेल्ने प्रवृत्ति बढिरहेको बताएका छन्।

पार्टीभित्रको बहस र सम्भावित नेतृत्व हस्तान्तरण

एमालेको अघिल्लो विधान अनुसार ७० वर्ष नपुगेका नेताहरू मात्र नेतृत्वका लागि योग्य ठहरिन्छन्। २०७८ असोजमा सम्पन्न विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागू गरेको थियो, तर २०८० जेठमा केन्द्रीय कमिटी बैठकले “हाललाई” भन्ने व्याख्या गर्दै त्यो प्रावधानलाई निलम्बन गरेको थियो।

भण्डारीले ७० वर्षे उमेरहद कायम राख्दै ओलीलाई अर्को कार्यकालबाट रोक्ने र आफू नेतृत्वमा अघि बढ्ने रणनीति बनाएको बुझिएको छ।

भण्डारीको सक्रियताले एमालेमा हलचल

ओलीले अनेरास्ववियुको महाधिवेशनको उद्घाटनमा भण्डारीप्रति संकेत गर्दै नेताहरूलाई भण्डारीको पक्षमा खुल्न नदिने चेतावनी दिएका थिए। त्यसको जवाफमा भण्डारीले पार्टी कार्यकर्तासँग भेटघाट गर्न कसैको अनुमति आवश्यक नरहेको स्पष्ट पारिन्।

एमालेभित्र नेतृत्व परिवर्तन र उमेरहदको बहसले गहिरो मोड लिएको छ। भण्डारीको सक्रियताले ओली नेतृत्वलाई गम्भीर चुनौती दिने संकेत देखिएको छ। आगामी भदौको विधान महाधिवेशनले एमालेको भविष्य दिशा तय गर्नेछ।

Leave a comment