Join our Channel

इरानको आणविक योजनामा रुसको समर्थन, इजरायलसँग सुरक्षा सम्झौता

इरानको आणविक योजनामा रुसको समर्थन, इजरायलसँग सुरक्षा सम्झौता
Getty Images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलको सुरक्षा चासोलाई ध्यानमा राख्दै रुस इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न तयार रहेको बताएका छन्।

उनका अनुसार, रुसले यो विषयमा इजरायली र अमेरिकी अधिकारीहरूसँग विस्तृत छलफल गरिसकेको छ र इरानी समकक्षीसँग समेत प्रस्तावहरू साटासाट भइसकेको छ। “शान्तिपूर्ण आणविक ऊर्जाको प्रयोगमा इरानको अधिकारलाई सुनिश्चित गर्दै इजरायलको सुरक्षा चासो समाधान गर्न सकिन्छ,” पुटिनले बताए।

पुटिनका अनुसार, रुसले इरानको आणविक गतिविधिसम्बन्धी बढ्दो तनावको ‘सम्भावित समाधान’ प्रस्ताव गरिसकेको छ। तर, अन्तिम निर्णय भने इजरायल र इरानका राजनीतिक नेतृत्वमै निर्भर हुने उनले स्पष्ट पारे।

उनले इरानसँगको आपसी विश्वासका कारण कृषि, औषधि तथा आणविक प्रविधिमा सहकार्य अघि बढ्ने आशा व्यक्त गरे। रुसले इरानको बुसेहर आणविक ऊर्जा परियोजनामा लामो समयदेखि संलग्न रहेको र अहिले पनि दुई नयाँ रिएक्टर निर्माणमा काम भैरहेको उनले जानकारी दिए। उक्त साइटमा २०० भन्दा बढी रुसी विज्ञहरू संलग्न छन्।

पुटिनले इरान र इजरायलबीच जारी तनावको बेलामा मस्कोले इजरायली अधिकारीहरूसँग सुरक्षा सहकार्य गरेको समेत खुलासा गरे।

गत शुक्रबार, जुन १३ मा इजरायलले इरानको आणविक पूर्वाधारमाथि ‘अपरेसन राइजिङ लायन’ सञ्चालन गरेपछि दुबै मुलुकबीच तनाव चरममा पुगेको छ। इरानले पनि जवाफी कारबाही गर्दै इजरायली क्षेत्रहरूमा हमला गरेको थियो। पछिल्ला दिनहरूमा दुबैतर्फ आक्रमण जारी रहेका कारण जनधनको ठूलो क्षति भएको पुष्टि भएको छ।

Leave a comment