
दैलेख जिल्लामा नेपालको लागि अत्यन्तै महत्त्वपूर्ण प्राकृतिक स्रोतको खोज गरिएको छ। खानी तथा भूगर्भ विभागका अनुसार, दैलेखको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।
यो अध्ययन चाइना जिओलोजिकल सर्भे र चीनको सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्त रूपमा गरेको हो। प्रारम्भिक अध्ययन अनुसार, नेपाललाई करिब ५० वर्षसम्म पुग्ने मिथेन ग्यास यही क्षेत्रमा रहेको पुष्टि भएको छ।
परीक्षणको अन्तिम नतिजा डिसेम्बरमा
विभागले दिएको जानकारी अनुसार, परीक्षणको अन्तिम प्रतिवेदन यस वर्षको डिसेम्बर महिनामा सार्वजनिक गरिनेछ।
विभागका उपमहानिर्देशक दिनेशकुमार नापितका अनुसार, चिनियाँ टोलीले ४,०१३ मिटरसम्म ड्रिलिङ गरी १/१ मिटरको नमुना संकलन गरेर परीक्षणका लागि चीन पठाएको थियो। परीक्षणपछि थप अनुसन्धानका लागि दुबै देशको सहकार्यमा सम्झौता भई काम अघि बढ्नेछ।
व्यवसायिक उत्पादनको तयारी
चट्टानका नमुना परीक्षण गर्दा ग्यासको गुणस्तर सकारात्मक देखिएको छ। प्रारम्भिक नतिजाले नेपालमा ग्यास उत्पादनको व्यवसायिक सम्भावना रहेको संकेत दिएको छ। अब परीक्षण उत्पादन गरिने र त्यसपछि मात्रै निश्चित निष्कर्ष निकालिने बताइएको छ।