
नुवाकोटको ऐतिहासिक झिल्टुङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक निर्माण गरिएको छ। महाकवि देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहमा सालिक अनावरणसँगै साहित्य पदयात्रा, वक्तृत्वकला प्रतियोगिता र अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएका छन्।
कार्यक्रमको आयोजन महाकवि देवकोटा साहित्य प्रतिष्ठान, झिल्टुङ–नुवाकोटले गरेको हो। यसअघि नुवाकोटको ऐतिहासिक तथा धार्मिक स्थल बेलकोटगढीबाट सुरु भई बेलकोट (निरन्जना)–बाघखोर–झिल्टुङ–कुञ्जिनी पार्क–देवीघाटसम्म दुई दिने साहित्य पदयात्रा सम्पन्न भएको थियो। उक्त यात्रामा देशभरका साहित्यकार, कवि, लेखक र समालोचकहरूको सहभागिता रहेको थियो।
देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन तथा संरक्षण प्रतिष्ठानमा पदयात्राको समापन गर्दै साहित्यिक कृति वाचन, कविता, मुक्तक, गीत, हाइकु र कथा वाचनका कार्यक्रमहरू गरिएको थियो। साहित्यकारहरूले यो यात्राले ग्रामीण साहित्य पर्यटनको नयाँ सम्भावना उजागर गरेको बताएका छन्।
वक्तृत्वकला प्रतियोगितामा गौलिङ्गेश्वर माविका सम्राट तामाङ प्रथम, पञ्चासे माविकी जमुना पौडेल द्वितीय र मालिका माविकी सन्जिता तामाङ तृतीय भएका छन्।
कार्यक्रममा मुर्तिकार दिनेश्वर महतो, हरिराम अधिकारी, कविता ढुंगाना, अनन्तप्रसाद नेपाल, मोहन नेपाल र द्वारिका नेपाललाई सम्मानपत्र प्रदान गरिएको थियो।
महाकवि देवकोटाले वि.सं. १९९७ ताका झिल्टुङमा बसेर ‘कुञ्जिनी खण्डकाव्य’ र ‘पहाडी जीवन’ निबन्ध लेखेका थिए। सोही ऐतिहासिक पृष्ठभूमिमा खड्कछापस्थित देवकोटा कुञ्जिनी पार्कमा सालिक अनावरण गरिएको हो।
महाकवि देवकोटाको सालिक र पार्क निर्माणका लागि संघीय सरकारले १८ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालका अनुसार १२ लाख रुपैयाँ सालिक र ६ लाख रुपैयाँ पार्क निर्माणमा खर्च गरिएको छ।