
कानुन अनुसार असार १० भित्र बजेट पेश गर्नुपर्ने प्रावधानका बाबजुद धरान उपमहानगरपालिकाले दुई महिना ढिलाइ पछि चालु आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट पास गरेको छ।
बैठकको छैठौं कार्यपालिका बैठकले असोज ४ गते शनिबार १७ औ नगरसभा बस्ने निर्णय पनि गरेको छ। यसअघिको भदौ २६ गतेको नगरसभा जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण स्थगित भएको थियो।
बैठकमा चालु आर्थिक वर्षका लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट सर्वसम्मत पारित गरिएको छ। नीति तथा कार्यक्रम संशोधनसँगै राजस्व पुनरावलोकन, बसपार्क सञ्चालन प्रतिवेदन, सडक उपयोग सेवा शुल्क ठेक्का र दररेटलगायत बाँकी रहेका एजेन्डा पनि पारित भएका छन्।
मेयर हर्क साम्पाङले बैठकमा बिपद् कोषबाट १ करोड रुपैयाँ मिनि टिप्पर किन्न छुट्याउने प्रस्ताव र जेन–जी आन्दोलनमा शहादत प्राप्त साजन मेवाहाङ्ग राईका दुई नाबालक छोराका लागि ५ लाख रुपैयाँ राहत दिने निर्णय कार्यपालिकाबाट सर्वसम्मत पारित भएको जानकारी दिए।
त्यसैगरी, पुतली लाइनस्थित भाटभटेनीमा आगो नियन्त्रणमा सहयोग गर्ने धरानका बारुण यन्त्र तथा नगरप्रहरीलाई सम्मान गर्ने निर्णय पनि भएको छ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्त भित्र बजेट निर्माण र पारित गर्नु पर्ने व्यवस्था भए पनि, धरानको बजेट श्रावण १ गतेबाट कानुनी रूपमै नभएको कारण दुई महिना आर्थिक कारोबार ठप्प रहेको थियो।