Join our Channel

ओलीको स्पष्टिकरण: “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन”

नेकपा (एमाले) अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको नबताएका छन्।

शुक्रबार संविधान दिवसका अवसरमा शुभकामना दिँदै उनले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका हुन्। ओलीले भने, “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ, नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय, नेताहरूका घर र निजी सम्पत्ति छानीछानी खरानी बनाइएको छ।”

उनले आन्दोलनमा आक्रोश फैलाउने नाममा देशलाई अस्थिर बनाउने प्रयास भएको दाबी गर्दै भने, “देश बनिरहेको थियो कि बिग्रिरहेको थियो ? वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर मात्र आक्रोश विस्तार गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं अनुभव गर्नेछ।”

जेन–जी आन्दोलनमा घुसपैठ भएको कुरा आह्वानकर्ताले नै स्विकार गरेको भन्दै ओलीले थपे, “त्यसमा षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, युवाहरूको ज्यान गयो। सरकारले गोली चलाउने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली हानिएको घटनाको छानबिन हुनुपर्छ।”

ओलीले दिवंगत युवाप्रति श्रद्धाञ्जली र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्दै संविधानलाई नेपालको सार्वभौमसत्ता र भविष्यको मार्गदर्शक दस्तावेज भएको बताए। उनले भने, “नाकाबन्दी र चुनौतीहरू परास्त गर्दै संविधान जारी भएको हो। यो संविधान नेपाली जनताले आफ्नै भविष्यको लागि लेखेको दस्तावेज हो। नेपाल बनाउन सबै पुस्ताका नेपाली एक हुनुपर्छ।”

Leave a comment