
सत्तारूढ नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संकेत गर्दै सबै राजनीतिक दलसँग अलग-अलग सम्झौता गर्ने सरकारको नीति नरहेको स्पष्ट पारेको छ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, “सरकारले दलैपिच्छे सम्झौता गर्दै हिँड्दैन। माओवादी केन्द्रसँग पहिल्यै भएको समझदारीका आधारमा संसद् सञ्चालन भइरहेको छ।”
उनले रास्वपाले प्रधानमन्त्रीसँग सहमति भए पनि संसद् अवरुद्ध गरेर “स्टन्ट” देखाउने प्रयास गरिरहेको आरोप लगाए। “आजको प्रश्नोत्तर कार्यक्रम संसद् कार्यसूचीअनुसार नै तय भएको थियो। तर, नाराबाजीका कारण सभामुखले कार्यसूचीबाट हटाउनु परेको हो,” बर्तौलाले स्पष्ट पारे।
आज संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो, तर रास्वपाको नाराबाजीका कारण कार्यक्रम स्थगित गरिएको हो।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग गर्दै आएको छ। पार्टीले माग पूरा नभएसम्म संसद् अवरोध जारी राख्ने चेतावनीसमेत दिएको छ। जेठ १४ गतेदेखि रास्वपाले लगातार संसद् अवरुद्ध गर्दै आएको हो।