Join our Channel

एमाले सचिव योगेश भट्टराई: पार्टीलाई नयाँ र युवा मैत्री बनाउने प्रतिबद्धता

एमाले सचिव भट्टराई: पार्टीलाई नयाँ र युवा मैत्री बनाउने प्रतिबद्धता

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको संरचनागत सुधार गर्दै नयाँ र युवा मैत्री, जनमुखी तथा प्रगतिशिल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा भट्टराईले भने, “हाम्रो पार्टीमा पुरानो पुस्ता छ, बिचको पुस्ता छ, र युवा पुस्ता छ। जेन्जी पुस्ता किन पार्टीसँग जोडिएको छैन भन्ने विषयमा गम्भीर समीक्षा गर्नेछौं। हाम्रो नीति र नेतृत्व आगामी दिनमा युवा मैत्री हुनेछ।”

युवालाई जोड्दै पार्टी सुधार

भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउँदै युवाहरूलाई पार्टीप्रति विश्वास गर्न आह्वान गरे। उनले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए।

संसद विघटन र संवैधानिक प्रक्रिया

सचिव भट्टराईले नेपाल फेरि संक्रमणकालमा प्रवेश गरेको उल्लेख गर्दै संसद विघटनको कदमलाई सही निकास नभएको बताए। उनले भने, “जेनजी पुस्ताका मागहरू संवैधानिक प्रक्रियाबाट, संसदमार्फतै सम्बोधन गर्न सकिन्थ्यो। तर संसदलाई विघटन गरिएको छ, जुन सही बाटो होइन।”

भट्टराईले संविधान र लोकतान्त्रिक प्रक्रियालाई संरक्षण गर्दै धैर्यपूर्वक अघि बढ्न आवश्यक भएको बताए।

भ्रष्टाचार र पार्टीको आत्मालोचना

भट्टराईले पार्टीभित्रको भ्रष्टाचार, कुशासन र बेथिती अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले स्वीकारे, “जनताका आवाज, युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्न हामी कतै चुक्यौं। यस कमजोरीका लागि हामी जनतासँग माफी माग्दछौं। पार्टी जनताबिना बाँच्न सक्दैन। जनता हाम्रो आधार स्तम्भ हुन्।”

पार्टीलाई गतिशील बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको उनले औल्याए र पार्टी संकटका बेला विचलित नहुने आह्वान गरे।

Leave a comment