Join our Channel

गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान

गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान

जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूको पहिचान विस्तारै खुल्न थालेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा राजनीतिक दलसँग आबद्ध नेता–कार्यकर्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता, कलाकारदेखि युट्युबरसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएको देखिएको छ।

सिंहदरबार, संसद् भवनदेखि सर्वोच्च अदालतमा आगजनी

जेन–जी आन्दोलन सुरु भएको भोलिपल्ट मंगलबार संसद् भवन, सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका संरचना जलाइएका थिए। भिडियो र फोटोहरूले देखाउँछन्, अधिकांश तोडफोड र आगजनीमा संलग्नहरू १३–२८ वर्षका युवा नभई पाका उमेरका व्यक्तिहरू थिए।

विवादास्पद संलग्नता

  • कैलाश कटुवाल (राप्रप युवा नेता): सिंहदरबारभित्र ‘आन्दोलन सफल भयो’ भन्दै खुशी व्यक्त गरेको भिडियो सार्वजनिक भयो। उनले भने आगजनीमा आफू प्रत्यक्ष संलग्न नभएको दाबी गरेका छन्।
  • विष्णु ढुंगेल (माओवादी निकट नेता): सर्वोच्च अदालतमा देखिएका ढुंगेलले भ्रष्टाचारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए। केहीबेरमै सर्वोच्च परिसरमा आगलागी भएको थियो।
  • संगीतकार चेतन सापकोटा: सिंहदरबारमा आक्रामक मुद्रामा देखिएका उनका फोटो सामाजिक सञ्जालमा भाइरल छन्।
  • मनोज केसी (TikTok प्रयोगकर्ता): संसद् भवन अगाडि झन्डा ओढेर तत्कालीन प्रधानमन्त्री ओलीलाई गाली गर्दै बनाएको भिडियो भाइरल भएको छ।
  • सुस्मिता क्षेत्री (लोकदोहोरी गायिका): राष्ट्रपति भवनमा आगो लाग्दा ‘फाइनल्ली राष्ट्रपति भवन गयो’ भन्दै उत्साहित भएको भिडियो उनले टिकटकमा पोस्ट गरेकी थिइन्।
  • भाग्य न्यौपाने (युट्युबर): रवि लामिछानेलाई नख्खु कारागारबाट निकाल्न उक्साउने भिडियो बनाएका थिए। त्यसपछि भीडले कारागारमा तोडफोड गरी कैदीबन्दीलाई बाहिर निकालेको थियो।
  • कृष्णबहादुर तामाङ (रास्वपा सहसचिव, भक्तपुर): कान्तिपुर टिभीमा आगजनीपछि खुसी व्यक्त गर्दै गरेको भिडियो सार्वजनिक भएको छ।

प्रहरीको अनुसन्धान

नेपाल प्रहरीले सार्वजनिक सम्पत्ति, निजी निवास, व्यावसायिक भवन, भाटभटेनी सुपरमार्केटलगायतमा भएको आगजनी, तोडफोड र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचानको काम तीव्र बनाएको छ। प्रहरीले अपिल गर्दै भनेको छ,
“२३ र २४ भदौमा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर, भिडियो र सामाजिक सञ्जाल लिंक उपलब्ध गराई सहयोग गर्न अनुरोध गर्दछौं।”

Leave a comment