
जेन-जी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेका छन्।
प्रहरी वृत्त गौशालाका अनुसार शुक्रबार १ वटा शव भेटिएको थियो भने शनिबार थप ५ वटा शव भेटिएका हुन्। सबै शवहरू आगोले जलेर क्षतविक्षत अवस्थामा फेला परेकाले तत्काल पहिचान गर्न नसकिने जनाइएको छ।
प्रहरीका अनुसार शवको डीएनए परीक्षणपछि मात्र पहिचान गर्न सकिनेछ। आन्दोलनका क्रममा भाटभटेनीमा ठूलो क्षति पुगेको छ — तोडफोड र आगजनीका कारण सम्पूर्ण भौतिक संरचना क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
यसअघि पनि आन्दोलनका क्रममा राजधानीलगायत देशभरका विभिन्न भागमा व्यापारिक प्रतिष्ठान र सरकारी कार्यालयमा आगजनी भएको थियो।