
जेन-जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई सरकारले शहिद घोषणा गर्दै प्रति व्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् । सरकारको निर्णयबारे जानकारी दिँदै मुख्यसचिव एकनारायण अर्यालले मृतकका परिवारलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति वितरण गर्ने तयारी भइरहेको बताए ।
सरकारले मृतकलाई क्षतिपूर्ति दिने मात्र नभई आन्दोलनमा घाइते भएका व्यक्तिहरूको निशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ । मुख्यसचिव अर्यालका अनुसार घाइतेहरूको उपचार हाल सरकारी अस्पतालमार्फत निःशुल्क गरिँदै छ ।
यसअघि जेन-जी आन्दोलनका क्रममा ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका थिए । आन्दोलनले विभिन्न क्षेत्रमा अवरोध सिर्जना गरेपछि सरकारले कर्फ्यु र निषेधाज्ञा समेत जारी गरेको थियो ।