
नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत गोरखाको चुमनुव्री गाउँपालिकास्थित दुईवटा प्रमुख नाका खुल्ला भएका छन् ।
चुमनुव्री–१ स्थित सामागाउँको रुइला नाका र वडा नं. ७ छेकम्पारस्थित ङुइला नाका खुल्ला गरिएका हुन् ।
ङुइला नाका गत मंगलबार (जुलाई १) देखि र रुइला नाका शनिबार (जुलाई ५) बाट खुलाइएको हो ।
चिनियाँ प्रशासनले स्थानीय जनप्रतिनिधिमार्फत जानकारी दिँदै, रुइला नाका एक महिनाका लागि र ङुइला नाका तीन महिनाका लागि खुला गरिएको जनाएको छ ।
नाका खुल्ला भएसँगै सीमा क्षेत्रका स्थानीय बासिन्दाहरू तिब्बतको बजारमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु किन्न तयारीमा छन् ।
कोरोना महामारीका कारण पाँच वर्षदेखि बन्द रहेको नाका गत वर्षदेखि निश्चित अवधिका लागि खुल्दै आएको हो ।
चुमनुव्री–७ का वडाध्यक्ष टसी दोर्जे लामाका अनुसार स्थानीयहरू नाका खुल्ला भएलगत्तै तिब्बतको स्या बजारमा किनमेलका लागि जाने तयारीमा छन् ।
गत वर्ष मात्र एक महिनाका लागि खुला गरिएको नाका यस वर्ष बढी समयका लागि खुलाइएको छ ।
नाका खुल्दा स्थानीयले यार्चागुम्बु र वनलसुन जस्ता जडीबुटी बेचेर खाद्यान्न ल्याउने गरेका छन् ।
छेकम्पार क्षेत्रबाट तिब्बतको स्या बजार दूरीका हिसाबले गोरखाको आरुघाट र गोरखा बजारभन्दा नजिक पर्छ ।
स्थानीयले आफ्नै घोडा प्रयोग गरेर सामान ढुवानी गर्न पाउँदा सहजता हुने बताएका छन् ।
गोरखाको तल्लो क्षेत्रबाट खच्चडमार्फत सामान ल्याउन अहिले पनि तीनदेखि चार दिन लाग्ने र ढुवानी खर्च प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म पर्ने गरेका छन् ।
तर तिब्बतबाट भने घोडामार्फत कम समयमा कम खर्चमा सामान ल्याउन सकिने भएकाले स्थानीयहरू त्यतै आकर्षित भएका हुन् ।
यस वर्ष नाका खोल्नुअघि सीमा सुरक्षासम्बन्धी ‘प्रिबोर्डर’ बैठक गर्ने तयारी गरिएको थियो ।
तर गृह मन्त्रालयबाट आदेश ढिलो भएका कारण असार १५ मा प्रस्ताव गरिएको बैठक हुन सकेन ।
छेकम्पार गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार बैठकका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
उनले भने, “गत वर्ष स्या गाउँसम्म जाने अनुमति थियो, यो वर्ष स्या गाउँबाट दुई घण्टा गाडीमा हिँडेर पुगिने कोङताङसम्म जान मिल्यो भने अझ सहज हुनेछ ।”
कोङताङ ठूलो सहर भएकाले स्थानीयले आवश्यक सामग्री सहजै किन्न सक्ने उनले बताए ।