
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित ६१ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। २१औं गाउँसभाको प्रथम बैठकमा अध्यक्ष बज्रध्वज वाइबा र उपाध्यक्ष चेखबहादुर थिङले आगामी वर्षका लागि बजेट र नीति कार्यक्रम एकैसाथ प्रस्तुत गरेका हुन्।
अध्यक्ष वाइबाले कृषि, शिक्षा, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिएका छन्। ‘समृद्ध हरिहरपुरगढीको आधार: शिक्षा, कृषि, वन, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले दिगो विकासका लागि चुस्त, दुरुस्त र जनअपेक्षाअनुरूप सेवा प्रवाहमा जोड दिएको छ।
गाउँपालिकाले संघ र प्रदेश सरकारको नीति, आवधिक योजना तथा सरोकारवालाहरूको सुझावलाई समेटेर आत्मनिर्भर र वातावरणमैत्री विकास लक्षित गर्दै बजेट तयार गरेको अध्यक्ष वाइबाले बताए।
उपाध्यक्ष थिङले सार्वजनिक गरेको बजेटमध्ये १७ करोड ११ लाख पुँजीगत खर्च र ४४ करोड २ लाख ५५ हजार ९ सय ३७ रुपैयाँ चालु खर्चका लागि विनियोजन गरिएको छ। स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनलाई पनि विशेष प्राथमिकता दिइएको छ।
नीति तथा कार्यक्रममा स्थानीय उत्पादन प्रवर्धन, तरबुजाको ब्रान्डिङ, माटोको स्वास्थ्य सुधार अभियान, कृषिको नवप्रवर्धनकारी योजना तथा पशुपालनमा व्यवस्थित सुधार गर्ने योजनाहरू समावेश छन्। साथै, सडक निर्माण र स्तरोन्नति, वर्षभरि यातायात सञ्चालनयोग्य सडक मर्मत, दीर्घकालीन विद्यालय र स्वास्थ्य भवन निर्माण, झोलुंगे पुल निर्माण लगायतका ठूला आयोजनाहरूलाई समेत बजेटमार्फत सम्बोधन गरिने छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र यी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।