
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा अलि उत्तरतिर रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागमा पनि थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
देशको उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको मौसम विभागले जनाएको छ।
राति पनि बदली रहने
आज राति पनि मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागहरूमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशमा राति पनि केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।