
इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा ६ जना इरानी आणविक वैज्ञानिकको ज्यान गएको छ। अलजजिरा टेलिभिजनले रिपोर्ट गर्दै शुक्रबार बिहानदेखि इजरायली सेनाले इरानका विभिन्न आणविक केन्द्रहरूलाई लक्ष्य बनाई आक्रमण गर्दै आएको जानकारी दिएको हो।
यो आक्रमणमा इरानका दुई जना उच्चस्तरीय अधिकारीको समेत मृत्यु भएको छ। मृतकमा इरानका क्रान्तिकारी गार्डका प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासी रहेका छन्।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, इजरायली सेनाले यो आक्रमणमा करिब २०० वटा फाइटर जेट परिचालन गरेको थियो। इरानले पनि जवाफी कारवाहीस्वरूप इजरायली भूमीतर्फ करिब १०० वटा ड्रोन प्रक्षेपण गरेको बताइएको छ।
यसबीच, अमेरिकी अधिकारीहरूले सीएनएनसँगको कुराकानीमा यो आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। तर अलजजिराले भने इजरायली आक्रमणको सम्भावनाबारे अमेरिका पहिले नै जानकार रहेको उल्लेख गरेको छ।
यो आक्रमणपछि इरान–इजरायल सम्बन्ध थप तनावपूर्ण हुने अनुमान गरिएको छ। इरानको आणविक कार्यक्रममाथि लामो समयदेखि इजरायलले आपत्ति जनाउँदै आएको थियो।