
लामो समयपछि कैलाश–मानसरोवर रुट खुलेसँगै हुम्ला हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्रीको चाप निकै बढेको छ । बुधबार मात्रै सिमकोट विमानस्थलमा १३ वटा जहाजले उडान भरे भने दैनिक ५ देखि ८२ उडानसम्म भइरहेको छ । सिमकोटमा पाँच हेलिकोप्टर तयारी अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार गत वर्षको चैतयता करिब ३ हजार भारतीयले मानसरोवर दर्शन गरिसकेका छन् । यस वर्ष मात्र अहिलेसम्म २ हजार ९९८ जना पुगिसकेका छन् । असोज दोस्रो साता (सेप्टेम्बर) सम्मका लागि सिमकोट र नेपालगन्जका होटलहरू फुल बुक भइसकेका छन् ।
मानसरोवर यात्राका लागि तारा, सीता, समिट एयरलाइन्सका जहाज र सिम्रिक, फिस्टेल, माउन्टेन, प्रभु, कैलाश हेलिकोप्टरले सेवा दिइरहेका छन् । हुम्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नाम्ग्याल तामाङका अनुसार हुम्ला हुँदै जाने रुट छोटो, सजिलो र कम थकान दिने भएकाले यसको लोकप्रियता बढेको हो ।
नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै यात्रामा ६–१० दिनमै दर्शन सम्पन्न गर्न सकिन्छ । होटल व्यवसायीका अनुसार यस वर्ष करिब १० हजार पर्यटक आउने अनुमान छ । दक्षिण भारत, तमिलनाडु, केरला, कर्नाटकका तीर्थयात्रीको सहभागिता बढी देखिएको छ ।
होटल र पैकेज मूल्य प्रति रात २,५०० रुपैयाँ तोकिएको छ जसमा बास र खाना समावेश छ । सिमकोट र नाम्खा गाउँपालिकाले प्रवेश शुल्कमार्फत राजस्व संकलन गरिरहेका छन् ।
स्थानीय पर्यटन व्यवसाय, होटल उद्योग, यातायात र कृषि उत्पादनको बजार यस यात्राले बढाएको छ । भारी बोक्ने, गाडी चालकदेखि होटल कामदारसम्मलाई रोजगारी मिलेको छ । तीर्थयात्रीहरूले ओखर, सिमी, भाँगो जस्ता स्थानीय कोसेली किनेर लैजाने गरेका छन् ।
मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हो, र अप्रिलदेखि सेप्टेम्बरसम्म दर्शनको मुख्य सिजन मानिन्छ । भारतीय तीर्थयात्रीहरूले यो यात्रा आफ्नो जीवनको ठूलो सपना पूरा भएको अनुभव व्यक्त गरेका छन् ।