Join our Channel

यस वर्षको धानको समर्थन मूल्य तोकियो

कञ्चनपुरमा यस वर्षको धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित सूचना अनुसार, मोटो धानको मूल्य प्रतिक्विन्टल रु. ३,४६३.८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु. ३,६२८.३३ तोकिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयअनुसार जिल्लामा समर्थन मूल्य निर्धारण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको सूचनामा कृषक, चामल उद्योगी तथा व्यापारीहरूलाई तोकिएको मूल्यमा नै धान खरिद–बिक्री गर्न अनुरोध गरिएको छ। साथै, पालिका क्षेत्रभित्र उक्त निर्णय कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।

हाल कञ्चनपुरका किसानहरू धान काट्ने, सुकाउने र थ्रेसिङ गर्ने कार्यमा व्यस्त छन्। किसानहरूले समर्थन मूल्य समयमा नै निर्धारण गरिएको भन्दै स्वागत गरेका छन्।

स्थानीय किसान गहनु चौधरीका अनुसार, सरकारले तोकेको मूल्य किसानका लागि राहतको विषय हो। उनले भने, “यदि पालिकास्तरमा सरकारी धान खरिद डिपो सञ्चालन गरेर तोकिएको मूल्यमै खरिद गरियो भने किसानलाई वास्तविक राहत मिल्नेछ।”

Leave a comment