Join our Channel

एक सातापछि खुल्यो कर्णाली राजमार्ग, ठूला गाडीको आवागमन सुरु

एक सातापछि खुल्यो कर्णाली राजमार्ग, ठूला गाडीको आवागमन सुरु

पहिरोका कारण एक सातासम्म अवरुद्ध रहेको कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।
कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार सडक मुनिको पर्खाल भत्किएपछि ठूला मालबाहक गाडीहरू रोकिएका थिए भने साना सवारी पास भइरहेका थिए।

सडक खोल्न दुई ब्रेकर मेसिन प्रयोग गरिए पनि असफल भएपछि कम्प्रेसर मेसिनमार्फत होल खोपेर नेपाली सेनाको सहयोगमा विस्फोट गराई सडक खुलाइएको जानकारी दिइएको छ।

ठूला यात्रुबाहक र मालवाहक गाडीहरू ताडी, पिली, वाली, गाल्जे, नाग्मा बजारलगायत स्थानमा रोकिएका थिए। वर्षासँगै जुविथा र जिउलो खोलाबाट आएको पहिरोले गाल्जे नजिक पर्खाल भत्काएको थियो।

तीन साताअघि पनि यही स्थानमा पहिरो गएका कारण मर्मत गरिएको पर्खाल पुनः भत्किँदा समस्या दोहोरिएको हो। अस्थायी ट्राफिक पोस्ट खल्लागाडका प्रहरी हवल्दार चन्द्र बहादुर घर्तीले चालक र यात्रुहरूले आफैंले पर्खाल बनाउन खोजे पनि सम्भव नभएको बताए।

कर्णाली राजमार्गको नाग्मा–जुम्ला खण्डमा सडक अपेक्षाकृत राम्रो भए पनि कालिकोट र दैलेख खण्ड भने हिलाम्मे र अव्यवस्थित छ।
कुल २३३ किलोमिटर लामो कर्णाली राजमार्ग वर्षाको समयमा पटक–पटक पहिरोले अवरुद्ध हुने समस्या दोहोरिरहन्छ, जसले यातायातसहित स्थानीय जनजीवन प्रभावित हुने गरेको छ।

Leave a comment