
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
परियारसहित महानगरपालिकाका पूर्व निर्देशकहरू रविन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीमाथि सामाखुसी करिडोर अन्तर्गत बसुन्धारा–म्हेपी ढल निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा मुद्दा परेको हो।
४ करोडभन्दा बढी बिगो, जरिवाना र कैद सजायको माग
अख्तियारका अनुसार ठेक्का प्रक्रिया मिलेमतोमा भएको प्रमाणित भएको भन्दै सातै जनालाई जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरिएको छ। सोहीअनुसार जरिवाना र कैद सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
सार्वजनिक बोलपत्रमा सबैभन्दा कम रकम कबोल गर्ने ‘समानान्तर सेवा प्रालि’ले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँमा ठेक्का प्रस्ताव गरे पनि, उक्त प्रस्ताव अस्वीकृत गर्दै बढी रकम कबोल गर्ने ‘कल्पवृक्ष कोहीनूर’ नामक कम्पनीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको थियो। यही विषयलाई लिएर अख्तियारले मिलेमतोमा सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको ठहर गरेको हो।
परियार अहिले सूचना तथा प्रसारण विभागमा
महानगरको कार्यकारी प्रमुखबाट सरुवा भएपछि परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रूपमा कार्यरत छन्। अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले सार्वजनिक सम्पत्तिमा हानी पुर्याउने कार्य संलग्न भएकाले उनीहरूलाई प्रतिवादी बनाएर मुद्दा अघि बढाइएको जानकारी दिए।