
काठमाडौं महानगरपालिकामा हाई मास्ट लाइट जडानको काम तीव्र गतिमा भइरहेको छ। मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै करिब १० करोड रुपैयाँ लागतमा ६२ वटा हाई मास्ट लाइट जडान भइरहेको बताएका छन्।
उनका अनुसार हालसम्म १२ वटा लाइट प्रज्वलन भइसकेका छन् भने बाँकी लाइटहरू दशैँ अघि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
मेयर शाहले लेखेका छन्–
“विगत ३ वर्षदेखि रोकिएको हाम्रो पहिलो प्राथमिकता ‘उज्यालो महानगर योजना’ अन्तर्गत हाई मास्ट लाइट जडान तीव्र गतिमा भइरहेको छ।”
यससँगै अघिल्लो कार्यकालमा जडान गरिएका तर नबलेका करिब २ हजार सोलार स्ट्रीट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल प्रज्वलन भइरहेको उनले उल्लेख गरे।
मेयर शाहका अनुसार, करिब ८५ करोडको लागतमा स्ट्रीट लाइट खरिद तथा जडानको अन्तिम चरणमा काम भइरहेको छ। यसले यो वर्षभित्रै काठमाडौं महानगरलाई पूर्ण उज्यालो महानगर बनाउने अपेक्षा गरिएको छ।