
काठमाडौं महानगरपालिका भित्रका विद्यालयमा सोमबार (सेप्टेम्बर १५) देखि पठनपाठन सुरु हुने भएको छ।
शनिबार जारी सूचनामा महानगरपालिकाले सोमबारदेखि विद्यार्थीलाई मनोसामाजिक परामर्शसँगै अध्ययन–अध्यापन अघि बढाउन निर्देशन दिएको हो।
शिक्षक आइतबारदेखि उपस्थित
महानगरका अनुसार आइतबारदेखि सबै शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुनुपर्नेछ। तर, उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउन आग्रह गरिएको छ।
अभिभावकको जिम्मेवारीमा विद्यार्थी
महानगरपालिकाले परिस्थिति सामान्य देखिएमा र अभिभावकले ल्याउने–लैजाने जिम्मा लिन सकेमा सोमबारदेखि विद्यार्थीलाई विद्यालयमा अध्यापन सुरु गर्न आग्रह गरेको छ।
अभिभावकसँग विद्यालय आउन–जान नसक्ने विद्यार्थीलाई भने भर्चुअल कक्षा (अनलाइन अध्ययन) मार्फत सहजिकरण गर्न सकिनेछ।
विद्यालयमा आवश्यक तयारी
महानगरले विद्यालयहरूलाई आइतबार विद्यालय प्रशासनिक कार्य, सरसफाइ तथा क्षतिग्रस्त संरचना निरीक्षण गर्न निर्देशन दिएको छ।
यदि कुनै क्षति देखिएमा त्यसको विवरण महानगरलाई उपलब्ध गराउनुपर्नेछ। साथै, विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी उनीहरूको अवस्था बुझ्न र आवश्यक सूचना आदानप्रदान गर्नुपर्नेछ।
महानगरले अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालय ल्याउने–लैजाने कार्य अभिभावकले नै गर्नुपर्नेमा जोड दिएको छ।