Join our Channel

प्रधानमन्त्रीको नयाँ कार्यकक्ष जोगिएका सामग्रीबाट तयार

प्रधानमन्त्रीको नयाँ कार्यकक्ष जोगिएका सामग्रीबाट तयार

जेनजी प्रदर्शनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आगजनीपछि क्षतिग्रस्त भवन प्रयोग गर्न नसक्ने भएपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीका लागि नयाँ कार्यकक्ष तयार पारिँदैछ।

गृह मन्त्रालयका लागि निर्माण गरिएको सिंहदरबारको पश्चिमोत्तर भागमा रहेको नयाँ भवनमा आगजनीबाट जोगिएका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायत पुराना सरसामग्री सारेर कार्यकक्ष तयार गर्ने काम नेपाली सेना र कर्मचारीले सुरु गरेका छन्।

आज बिहानदेखि नै पुरानो प्रधानमन्त्री कार्यालयबाट जोगिएका सामग्रीहरू नयाँ भवनमा सार्ने काम भइरहेको छ। पुरानै फर्निचर र उपकरणलाई व्यवस्थापन गर्दै नयाँ कार्यालय सञ्चालनको तयारी गरिएको हो।

यसैबीच, आगजनी र तोडफोडले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ठूलो क्षति पुर्याए पनि कर्मचारीहरू सचिव चुडामणि पौडेलको नेतृत्वमा बिदाको दिन सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन्। मन्त्रालयकै प्रवक्ता शिवकुमार सापकोटाले भने, “कर्मचारीबाट सकेसम्म सरसफाइ र मर्मतसम्भार गर्दै छिट्टै कार्य सञ्चालन गर्ने तयारीमा छौं।”

क्षतिको लगत निकाल्न समिति गठन गरिएको र गाडी, कम्प्युटर, फर्निचर, टेलिभिजन लगायतका सामग्री नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। संरचनागत क्षति नभएको स्थानलाई तत्काल प्रयोगमा ल्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

Leave a comment