Join our Channel

काभ्रे-भक्तपुर जोड्ने नालाको पूरानो पुल भाँचिँदा वैकल्पिक सडक पूर्ण बन्द

काभ्रे-भक्तपुर जोड्ने नालाको पूरानो पुल भाँचिँदा वैकल्पिक सडक पूर्ण बन्द

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ४ र वडा नम्बर १ को सीमामा रहेको नालाको पूरानो पुल भाँचिएपछि काठमाडौं प्रवेशका लागि प्रयोग हुँदै आएको वैकल्पिक सडक पूर्णरूपमा बन्द भएको छ।

गए राति मालबाहक गाडी पुल पार गरेपछि करिब ४५ वर्षअघि बनेको सो पुल भाँचिएको स्थानीय शान्तलाल श्रेष्ठले बताए। पुल भाँचिएसँगै बनेपा–भक्तपुरको च्यामासिङ सडकखण्डबाट सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।

यो सडक राजधानी जाने महत्त्वपूर्ण वैकल्पिक मार्ग हो, जसले विशेष गरी अरनिको राजमार्ग मर्मत भइरहेका बेला दोहोरो चाप बोक्दै आएको थियो।

हाल सूर्यविनायकदेखि धुलिखेलसम्म राजमार्ग विस्तार भइरहेकाले दुई वर्षदेखि अधिकांश सवारी साधन यही वैकल्पिक सडक प्रयोग गर्दै आएका थिए।

जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट आउने सवारी नपठाउन अनुरोध गरेको छ भने बनेपाबाट राजधानीतर्फ जाने सवारी साधनलाई पनि रोकिएको जनाएको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूका अनुसार सडक विभाग र स्थानीय तहसँग समन्वय गरेर अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ।

Leave a comment