
पर्वत जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था, प्रदेश अस्पताल पर्वतले ३५ वर्षपछि पहिलोपटक विशेषज्ञ सेवा सुरु गरेको छ। अस्पतालको आन्तरिक व्यवस्थापन र गण्डकी प्रदेश सरकारको समन्वयमा हाडजोर्नी, बालरोग र स्त्रीरोग विशेषज्ञ सेवा सुरु गरिएको हो।
पहिले पोखरा वा अन्य सहर जानुपर्ने बाध्यता रहेको बिरामीहरू अब स्थानीय अस्पतालमै उपचार पाउने भएका छन्। अस्पतालले आफ्नै स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ चिकित्सकहरू ल्याएर सेवा सुरु गरेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले जनाएअनुसार, डा. प्रकाश गौतमले बालरोग, डा. ढुण्डीराज पौडेलले हाडजोर्नी तथा नशा रोग, डा. प्रियसा अधिकारीले स्त्रीरोग र डा. बालकृष्ण श्रेष्ठले बेहोस सम्बन्धी सेवा दिनेछन्।
उनीहरू सबै नेपाल सरकारको छात्रवृत्ति योजनाअन्तर्गत आएका हुन् र कम्तीमा दुई वर्ष सेवा गर्नेछन्। यसले पर्वत र आसपासका क्षेत्रका बिरामीहरूलाई सहज हुने डा. बास्तोलाले बताए। केही दिनमा प्रदेश सरकारले नयाँ उपकरण पनि उपलब्ध गराउने तयारीमा रहेको छ।
अस्पतालमा हाल ११० जना स्वास्थ्यकर्मी कार्यरत छन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीका अनुसार, अहिले दैनिक तीन सयभन्दा बढी बिरामीलाई सेवा दिइरहेको छ। यसअघि दैनिक ४०–४५ बिरामी मात्र उपचार गरिन्थ्यो।
अस्पतालको यो नयाँ सेवा सुरु भएपछि स्थानीय बिरामीहरूमा खुसी छाएको छ।