Join our Channel

तातोपानी नाका पुनः अवरुद्ध: कोदारी सडक भास्सिँदा चीनसँगको सम्पर्क टुट्यो

तातोपानी नाका पुनः अवरुद्ध: कोदारी सडक भास्सिँदा चीनसँगको सम्पर्क टुट्यो

अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–२ अन्तर्गत पर्ने कोदारी इको खण्ड भास्सिएपछि तातोपानी नाका हुँदै चीन जाने मुख्य सडक आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले नेपाल–चीनबीचको अन्तर्राष्ट्रिय व्यापारमा पुनः अवरोध ल्याएको छ।

स्थानीय वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार शनिबार रातिदेखि लगातार परेको झरीका कारण कोदारी क्षेत्रमा सडकको संरचना कमजोर भई आइतबार बिहान सडक भास्सिएको हो। “अब झरी सुरु भयो, सडक पटक–पटक भास्सिन्छ, सीमावर्ती बासिन्दा र व्यापारमा प्रत्यक्ष असर पर्छ,” अध्यक्ष श्रेष्ठले बताए।

यो सडक भएर तातोपानी नाकाबाट कन्टेनर ढुवानी र दुई देशबीचको व्यापार सञ्चालन हुँदै आएको छ। तर, भर्खरै बर्खाअघि पनि यो मार्ग दुईपटक अवरुद्ध भएको थियो। यसअघि कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भास्सिएर सम्पूर्ण आवागमन बन्द भएको थियो।

हाल घटनास्थलमा सुरक्षाकर्मी र प्राविधिक टोली परिचालन गरिएको छ। सडक मर्मतको प्रारम्भिक तयारी भइरहे पनि विस्तृत मूल्यांकनपछि मात्रै पुनःनिर्माण कार्य सुरु हुने जनाइएको छ। तातोपानी नाका प्राकृतिक प्रकोपको जोखिममा पर्ने संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ।

Leave a comment