Join our Channel

जेनजीलाई ओलीको प्रश्न : खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?

जेनजीलाई ओलीको प्रश्न : खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधि प्रति गम्भीर आपत्ति जनाउँदै “खरानीमाथि बसेर सुखी हुन सकिन्छ ?” भन्ने प्रश्न उठाएका छन्।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई अलोकतान्त्रिक ढंगबाट बनेको दाबी गर्दै लोकतान्त्रिक विधिबाट सरकार निर्माण गर्न राष्ट्रपति समक्ष आग्रह गरेका छन्।

जेनजीलाई आवेगमा नआउन सुझाव

ओलीले जेनजी पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासनका मागलाई वैध बताए तर आगजनी र तोडफोडमार्फत आन्दोलन अघि बढाउनु गलत भएको बताए।
उनले भने – “जेनजी घरघरमै छन्। केहीलाई गुमराहमा राखिएको छ। तपाईँहरू भर्खरकै हुनुहुन्छ, धेरै बाँच्नु छ। तर यसरी सम्पदा, होटल, सार्वजनिक संरचना जलाउँदै जाने हो भने, खरानीमाथि बसेर सुखी हुन सक्नुहुन्छ ?”

हिंसात्मक घटनाबारे छानबिन माग

ओलीले जेनजी आन्दोलनमा भएको गोलीकाण्डबारे सत्यतथ्य छानबिन हुनुपर्ने बताए। उनका अनुसार १४ जनाको मृत्यु भएको र केहीलाई टाउकोमा गोली लागेको खबर आएको छ।
“देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। तर जसले उपद्रो मच्चायो, त्यसको दोष मलाई लगाइयो। घटनाप्रति म स्तब्ध छु र यसबारेमा छानबिन गर्न माग गरेको छु,” ओलीको भनाइ थियो।

एमाले नै देश बनाउने शक्ति : ओली

भदौ २४ गते आफूले कुनै अधिकार नबचेको थाहा पाएपछि राजीनामा गरेको स्मरण गर्दै ओलीले देशलाई सही बाटोमा फर्काउन एमालेबाहेक अरू पार्टी सक्षम नभएको दाबी गरे।
उनले सबैलाई संयमता अपनाउन आग्रह गर्दै भने – “देश बनाउने एमालेले नै हो। राष्ट्र जोगाउन एकता आवश्यक छ।”

कैदीबन्दीलाई फर्कन आह्वान

ओलीले आन्दोलनका क्रममा जेलबाट निस्किएका कैदीबन्दीलाई पुनः कारागार फर्कन र प्रहरीसँग खोसिएका हतियार बुझाउन आह्वान गरे।

Leave a comment