Join our Channel

केपी शर्मा ओलीको प्रतिक्रिया : “म हट्ने नहट्ने कुरा फेसबुकले होइन, कमिटीले भन्छ”

ओलीको प्रतिक्रिया : “म हट्ने नहट्ने कुरा फेसबुकले होइन, कमिटीले भन्छ”

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टी नेतृत्वबाट आफू हट्ने नहट्ने निर्णय सामाजिक सञ्जालको चापमा नभई केन्द्रीय कमिटी वा महाधिवेशनले मात्र गर्ने बताएका छन्।

मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले सामाजिक सञ्जाल र बाह्य दबाबको आधारमा पद नछोड्ने स्पष्ट सन्देश दिएका हुन्।

“मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्छ,” उनले भने, “यो कमिटीले भन्छ भने यसको आदेशमा जुनसुकै निर्णय गर्न तयार छु।”

ओलीले आफू कुनै परिस्थितिमा विचलित नहुने स्वभावको व्यक्ति भएको उल्लेख गर्दै पार्टीभित्र लोकप्रियतावादको लहर देखिएको टिप्पणी गरे। उनले केही नेताहरू लोकप्रियता कमाउने नाटकमा लागेको आरोप लगाए।

“एमालेलाई मन नपराउनेहरूले पार्टी कार्यालय नै जलाए”

ओलीले विरोधीहरूप्रति आक्रोश व्यक्त गर्दै भने,

“एमाले मन नपराउनेहरूले च्यासलको पार्टी कार्यालय र नेताहरूको घर जलाए। आई लभ यू भनेर त जलाएको होइन होला।”

उनका अनुसार, पार्टी र नेताहरूको घर जलाउने, बदनाम गर्ने, र चरित्र हत्या गर्ने कामहरूबाट आफू डराउने मान्छे होइनन्।

“विरोधीहरूले चरित्र हत्या गर्ने, झुटा आरोप लगाउने, विदेशमा पैसा लुकाएको भन्ने, जलहरीमा पित्तल चढाएको भन्नेजस्ता हास्यास्पद कुरा गर्छन्,” उनले भने, “तर, म बिग्रिएको होइन, अझ दौडन सक्ने अवस्थामा छु।”

“निर्णय पार्टीले गर्छ, व्यक्ति होइन”

ओलीले पार्टी निर्णयलाई नै अन्तिम भनेका छन्।

“केन्द्रीय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ — त्यसैको आधारमा म निर्णय गर्छु,” उनले भने, “व्यक्तिगत इच्छा पूरा गर्न म राजनीति गरेको होइन, देशको इच्छा पूरा गर्न आएको हुँ।”

उनले पार्टीभित्रको आन्तरिक मतभेदलाई सामान्य राजनीतिक प्रक्रिया भन्दै पार्टी एकतामा जोड दिए।

Leave a comment