Join our Channel

लहानमा राहदानी सेवा पुनः नियमित, दैनिक ५० जनालाई सुविधा

लहानमा राहदानी सेवा पुनः नियमित, दैनिक ५० जनालाई सुविधा

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटपछि बन्द रहेको लहानस्थित इलाका प्रशासन कार्यालयको राहदानी सेवा पुनः नियमित भएको छ। कार्यालय प्रमुख उपसचिव वेदनिधि खनालका अनुसार आवश्यक विद्युतीय उपकरण पुनः जडान भएसँगै सोमबारदेखि सेवा औपचारिक रूपमा पुनः सुरु गरिएको हो।

प्रमुख खनालका अनुसार, शाखामा कम्प्युटर सेट, स्क्यानर, क्युआर रिडर, सिग्नेचर प्याड, स्ट्यान्ड र क्यामेरासहितको इन्ट्रानेट जडान भएपछि सेवा पुनः सुरु भएको हो। हाल शाखाबाट दैनिक ५० जनालाई राहदानी सेवा दिने व्यवस्था गरिएको छ।

साथै, अनलाइन फर्म रुजु गर्ने, बायोमेट्रिक विवरण लिने कार्य पनि सुरु भएको छ। प्रमुख खनालले बताए अनुसार, अनलाइन फर्ममा दिइएको विवरण र राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरण मेल खाएमा सेवाग्राहीको मोबाइलमा जानकारी पठाइनेछ।

जेनजी आन्दोलनका क्रममा लुटिएको राष्ट्रिय परिचयपत्र शाखाको क्यामेरा फिर्ता भएपछि, असोज ५ गतेदेखि राष्ट्रिय परिचयपत्र सेवा पनि सञ्चालनमा आएको थियो। शाखा अधिकृत सन्तोष रायका अनुसार हाल दैनिक करिब ७० जनासम्मको विवरण दर्ता भइरहेको छ, जुन आन्दोलनअघि करिब १५० जनासम्म पुग्थ्यो।

उक्त आन्दोलनका क्रममा कार्यालयमा भएको सामान्य आगजनी र तोडफोडबाट करिब रु १५ लाख बराबरको क्षति पुगेको प्रमुख खनालले जानकारी दिए।

हाल इलाका प्रशासन कार्यालयले सिराहाको धनगढीमाई, लक्ष्मीपुरपतारी, नवराजपुर, सखुवानन्कारकट्टी, भगवानपुर गाउँपालिकालहान नगरपालिकाका सबै वडाहरूका नागरिकलाई सेवा दिँदै आएको छ।

Leave a comment