Join our Channel

माइतीघर प्रदर्शनपछि नेता–कार्यकर्ता पक्राउ माग गर्दै १ दर्जन जाहेरी दर्ता, प्रहरीले बढायो निगरानी

माइतीघर प्रदर्शनपछि नेता–कार्यकर्ता पक्राउ माग गर्दै १ दर्जन जाहेरी दर्ता, प्रहरीले बढायो निगरानी

माइतीघरमा बिहीबार भएको प्रदर्शनपछि प्रहरीले विभिन्न समूहका ४४ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शन बिना अनुमति गरिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार कुनै पनि समूहले विरोध प्रदर्शन गर्न स्थानीय प्रशासनको अनुमति लिनु पर्ने कानुनी व्यवस्था भए पनि माइतीघर क्षेत्रमा स–साना समूह बनाएर हिंसा भड्काउने प्रयास गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

यसैबीच, प्रदर्शन र सुरक्षासम्बन्धी चुनौतीबारे बिहीबार नै गृहमन्त्रालयमा उच्चस्तरीय छलफल भएको थियो। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिसँग सुरक्षा तयारीबारे छलफल गरेका थिए।

बैठकमा विभिन्न नेताहरूका आक्रोशपूर्ण अभिव्यक्ति र आन्दोलनका योजनाले हिंसाको सम्भावना बढाउन सक्ने निष्कर्ष निकालिएको थियो। छठपछि दुर्गा प्रसाईंले गर्ने भनिएको आन्दोलन पनि छलफलको मुख्य विषय रह्यो।

यसै क्रममा, जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र समर्थक समूहहरू माइतीघर मण्डलामा निरन्तर विरोध गर्दै आएका छन्। सामाजिक सञ्जालमा फेक आईडी र समूहमार्फत आन्दोलनका गतिविधि बढेपछि प्रहरीले निगरानी थप कडा बनाएको छ।

प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं मेयर बालेन्द्र शाह, र जेन–जी नेता सुदन गुरुङलगायत नेताविरुद्ध पक्राउ माग गर्दै करिब एक दर्जन जाहेरी प्रहरीमा दर्ता भएका छन्।

प्रवक्ता भट्टराईका अनुसार, “प्रहरीमा आएका सबै जाहेरीमाथि अनिवार्य अनुसन्धान हुने छैन। केही जाहेरी कानुनी सन्दर्भमा सम्बन्धित निकायमा पठाइएका छन्।

प्रहरीले जेन–जी आन्दोलनसँग सम्बन्धित केही जाहेरी उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइसकेको छ। तर, ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट फर्किएको, र बालेन र सुदनविरुद्धको जाहेरी आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a comment