
जाडो छल्नका लागि हरेक वर्ष कीर्तिमानी दूरी तय गरी बसाइँ सर्ने पाहुना चराहरू अहिले कञ्चनपुर–कैलालीका तालतलैया, सीमसार र नदी क्षेत्रमा पुग्न थालेका छन्।
नेपाल पन्छी संरक्षण सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराका अनुसार, उत्तरी गोलार्द्धमा अत्यधिक चिसो बढ्न थालेपछि साइवेरिया, कीर्गिस्तान, उत्तरी चीन, तिब्बत र मङ्गोलियालगायतका क्षेत्रमा बस्ने चरा हरेक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका तालतलैयामा बसाइँ सारेर आइपुग्छन्।
मुख्य आगमनस्थलहरूमा कञ्चनपुरको पुरैनी ताल, सिकारी ताल, महाकाली र चौधर नदी, कैलालीको घोडाघोडी ताल, वसन्ता जैविक मार्ग, कर्णाली नदी तथा डडेल्धुराको आलिताल पर्दछन्। बसाइँ सारेर आउनेमध्ये मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैले टाउके हाँस साथै विभिन्न जलपन्छी र फिस्टे चरा प्रमुख छन्।
नेपालमा प्रत्येक वर्ष करिब १०० भन्दा बढी प्रजातिका चरा जाडो छल्न बसाइँ सारेर आउने गरेका छन्। कञ्चनपुर र कैलालीका तालतलैयामा मात्र करिब ३०–५० प्रजातिका पाहुना चराहरू नियमित रूपमा देखिन्छन्। तर, पछिल्ला वर्षमा मानव अतिक्रमण र माछापालनको कारण चराको सङ्ख्यामा घटावट देखिएको डगौराले बताए।
चराको दीर्घकालीन संरक्षणका लागि सीमसार क्षेत्रको व्यवस्थापन, स्थानीय समुदायको सहभागिता र जनचेतना अभिवृद्धि आवश्यक रहेको उनले जोड दिए।