
हुलाकी सडकखण्डअन्तर्गत मोरङको कटहरी गाउँपालिका–३ बाट मंगलबार राति स्रोत नखुलेको नगद रकम बरामद गरिएको छ। उक्त रकम ओसारपसारमा प्रयोग भएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
District Police Office Morangका प्रमुख एसपी कवित कटवालका अनुसार ४ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर अभिषेक श्रेष्ठ नेतृत्वको टोलीले प्रदेश १–०२–००२ च ६६१० नम्बरको टाटा योद्धा पिकअप गाडीलाई राति करिब १:३५ बजे नियन्त्रणमा लिएर जाँच गरेको थियो।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाडीलाई शंका लागेर रोक्दा स्रोत नखुलेको नगद रकम फेला परेको प्रहरीले जनाएको छ। बरामद रकमको स्पष्ट स्रोत खुलाउन नसकेपछि गाडीसहित चालक जहदा गाउँपालिका–२ का अन्दाजी २४ वर्षीय विशाल टुडूलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार बरामद रकम, गाडी र चालकलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ। यद्यपि, विस्तृत अनुसन्धानपछि मात्र यथार्थ विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।