
हिन्दुहरूको महान पर्व दशैं नजिकिँदै गर्दा मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्रा भक्तपुर आइपुगेका छन्। भक्तपुरको सल्लाघारीमा व्यापारीहरूले जिउँदो च्याङ्ग्रा प्रतिकिलो १,३०० रुपैयाँमा बिक्री सुरु गरेका छन्।
व्यापारी चित्रबहादुर सिलवालका अनुसार मुस्ताङबाट काठमाडौंसम्म ल्याउने क्रममा विभिन्न स्थानीय निकायले लिने कर र ढुवानी खर्चले गर्दा मूल्य बढेको हो। “मुस्ताङबाट च्याङ्ग्रा ल्याउँदा विभिन्न ठाउँमा कर तिर्नुपर्छ, जसले लागत बढाउँछ,” सिलवालले भने।
सल्लाघारीमा भेडा र च्याङ्ग्रा पशु चिकित्सकको स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री गरिन्छ। पशु सेवा विभागले आश्विन ६ देखि १५ गतेसम्म सल्लाघारीमै पशुपन्छी स्वास्थ्य परीक्षणको व्यवस्था गरेको छ।
यसैबीच, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष सहुलियत मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने निर्णय गरिसकेको छ। यसअघि दशैंमा सरकारले मूल्य नियन्त्रणका लागि छुटमा चौपाया बिक्री गर्दै आएको थियो।