Join our Channel

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना

महान हिन्दू पर्व दशैं अन्तर्गत नवरात्रको तेस्रो दिन आज घर–घर र मन्दिरमा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। नवदुर्गामध्ये तेस्रो शक्ति चन्द्रघण्टा देवीले हातमा चन्द्रमाको आधार भएको घण्टा धारण गर्ने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ।

धार्मिक विश्वास अनुसार चन्द्रघण्टा देवीको आराधनाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने र कृपाले समग्र पाप नाश हुने जनविश्वास छ। नवरात्रको पहिलो दिन शैलपुत्री देवी, दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरी आज तेस्रो दिन चन्द्रघण्टा देवीलाई आह्वान गरिएको हो।

वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ।

नवरात्रको अवसरमा देशभरका शक्तिपीठ, मन्दिर र पूजा स्थलीमा भक्तजनको विशेष भीड देखिएको छ। पूजाआराधनाबाट प्राप्त प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म घरघरमा लगाइन्छ।

Leave a comment