Join our Channel

मनास्लु हिमालमा आरोहीको भीड, बाटोमै ‘ट्राफिक जाम’

मनास्लु हिमालमा आरोहीको भीड, बाटोमै ‘ट्राफिक जाम’

शरद आरोहण सिजन सुरु भएसँगै गोरखाको मनास्लु हिमालमा विदेशी तथा स्वदेशी आरोहीको भीड लागेको छ। मनास्लु आधार शिविरदेखि शिखरतर्फको बाटोमा अहिले करिब दुई सयभन्दा बढी आरोहीहरू एकैसाथ अगाडि बढ्दा ट्राफिक जाम जस्तै अवस्था सिर्जना भएको छ।

आरोही नाङ्सल छोदेन लामाले मंगलबार बिहान जानकारी दिँदै भनिन्, “हिमाल चढ्ने बाटोमा दुई सयभन्दा धेरै आरोही अड्किएका छन्। सोमबार र मंगलबार केहीले शिखर चुमिसके पनि अझै ठूलो भीड छ।”

८,१६३ मिटर अग्लो मनास्लु हिमाल गोरखाको चुमनुब्री गाउँपालिका–१ मा पर्छ। यो सिजनमा नेपालमै सबैभन्दा धेरै आरोही मनास्लुमा आकर्षित हुने परम्परा छ। सोमबार मात्रै सेभेन सम्मिट ट्रेक्समार्फत गएका ३४ आरोहीले सफल आरोहण गरेका छन्। त्यस्तै पायोनियर एड्भेन्चर, इलाइट एक्सपेडिसन लगायतका कम्पनीमार्फत गएका आरोहीहरू पनि शिखर पुगेका छन्।

सिजन सुरु भएदेखि नै अनुकूल मौसम र स्थिर हिमतालिका कारण यस वर्ष मनास्लुमा विदेशी पर्वतारोहीको चहलपहल उल्लेख्य देखिएको छ। पर्यटन विभागका अनुसार यस शरद सिजनमा मनास्लु आरोहणका लागि ४०० भन्दा बढी आरोहण अनुमति पत्र जारी गरिएको छ।

Leave a comment