Join our Channel

२० वर्षअघि भएको हत्याका फरार अभियुक्त ठहरबहादुर घर्ती म्याग्दीमा पक्राउ

२० वर्षअघि भएको हत्याका फरार अभियुक्त ठहरबहादुर घर्ती म्याग्दीमा पक्राउ

म्याग्दी जिल्लामा २० वर्षअघि भएको एक हत्या घटनाका फरार अभियुक्त अखेर पक्राउ परेका छन्। बेनी नगरपालिका–६, माझखेतका ४३ वर्षीय ठहरबहादुर घर्ती क्षेत्रीलाई प्रहरीले २०६२ असोज ६ गते भएको कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न अभियोगमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै, ठहरबहादुरलाई लामो समयपछि घरबाटै पक्राउ गरिएको जनाएको छ। प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार, घटना भएको रातमै भारत फरार भएका ठहरबहादुर हाल म्याग्दीस्थित आफ्नो घरमा बसोबास गरिरहेका अवस्थामा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ठहरबहादुरले आफ्ना दाजु कर्णबहादुरलाई घरमै सुतिरहेको बेला दाउराले प्रहार गरी हत्या गरेका थिए। त्यसक्रममा मृतककी श्रीमतीलाई पनि गम्भीर घाइते बनाउँदै गरगहना लुटेर भारत भागेका थिए। उनले प्रहरीलाई दिएको बयानअनुसार, हत्या पछि उनी पाँच वर्ष भारतको मुम्बईमा बसेका थिए र पछि पोखरामा आएर खाजा पसल र ज्यामीको काम गर्दै लुकीछिपी बस्दै आएका थिए।

प्रहरीले कात्तिक १ गते उनलाई पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

ठहरबहादुर यसअघि पनि २०५९ सालमा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। २०६० सालमा तत्कालीन माओवादी आक्रमणका क्रममा बेनी कारागारबाट भागेका उनीमाथि २०६६ जेठ १६ गते जिल्ला अदालत म्याग्दीले १० वर्ष कैद सजायको फैसला गरेको थियो।

Leave a comment