
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७औं संस्करणको नाडा अटो शो २०२५ आगामी भदौ ३ देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ। ‘Go For More’ नारासहितको यो प्रदर्शनीले नवीनतम प्रविधि, स्मार्ट मोबिलिटी र अटो क्षेत्रमा भइरहेको सम्पूर्ण विकासलाई एकै छानामुनि प्रस्तुत गर्नेछ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। नाडा स्थापनाको ५०औं वार्षिकोत्सवको अवसर पारेर आयोजना हुन लागेको यो शोमा देश–विदेशका प्रमुख सवारीसाधन ब्रान्ड तथा अटो पार्ट्स निर्माता कम्पनीको सहभागिता रहनेछ।
मुख्य आकर्षणहरू
- १९ चारपांग्रे सवारी ब्रान्ड
- १३ हल्का व्यावसायिक सवारी ब्रान्ड
- ४ दुईपांग्रे सवारी ब्रान्ड
- अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनी
- अत्याधुनिक Unitree Robots चारपांग्रे रोबोट
- Dipal eVTOL UAV (उड्ने सवारी)
- Vintage Motor Show मा Morris Minor, Beetle, Mini Cooper, Toyota RT40, Mazda Familia, Toyota MR2 जस्ता क्लासिक गाडीहरू
- ‘Made in Nepal Pavilion’ मा स्वदेशमै निर्मित सवारी तथा अटो पार्ट्स
- अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनमार्फत विदेशी सहकार्य प्रवर्द्धन
- EV र स्मार्ट मोबिलिटीसम्बन्धी सेमिनार, कार्यशाला र अन्तर्क्रिया कार्यक्रम
करिब १ लाखभन्दा बढी आगन्तुक र १२५ भन्दा बढी प्रदर्शक रहने अनुमान गरिएको यस प्रदर्शनी करिब ३ लाख वर्गफुट क्षेत्रमा फैलिनेछ।