Join our Channel

अब एटीएमबाट एक दिनमा ५० हजार मात्रै झिक्न पाइने, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

अब एटीएमबाट एक दिनमा ५० हजार मात्रै झिक्न पाइने, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू

अब एटीएमबाट डेबिट कार्ड प्रयोग गरी एक दिनमा अधिकतम ५० हजार रुपैयाँ मात्रै नगद झिक्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यो नयाँ सीमा निर्धारण गरेको हो।

पहिले ग्राहकहरूले प्रतिकारोबार २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म एटीएमबाट झिक्न पाउँथे। तर नयाँ व्यवस्थाअनुसार अब प्रतिकारोबार २० हजार, प्रतिदिन ५० हजार र प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्रै नगद निकाल्न पाइनेछ।

राष्ट्र बैंकका अनुसार यो कदम डिजिटल कारोबारलाई प्रवर्द्धन र नगद कारोबारलाई क्रमशः घटाउने उद्देश्यले लिइएको हो।

केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितका अनुसार पछिल्लो समयमा मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, क्यूआर कोड र वालेटमार्फत हुने कारोबार तीव्र रूपमा बढेकाले एटीएममा निर्भरता घट्दै गएको छ।
उनले भने, “अबको लक्ष्य डिजिटल कारोबारलाई विस्तार गर्नु हो। त्यसैले नगद झिक्ने सीमा घटाइएको हो। एटीएम प्रयोग घट्दै गएको तथ्यांकले पनि यो निर्णयलाई समर्थन गर्छ।”

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार गत साउन महिनामा मात्रै एटीएमबाट ८५ अर्ब ८३ करोड रुपैयाँ झिकिएको थियो, जबकि सोही अवधिमा मोबाइल बैंकिङमार्फत ८ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको छ।

नयाँ व्यवस्थाले डिजिटल माध्यमलाई अझ सहज र लोकप्रिय बनाउन मद्दत गर्ने बैंकहरू अपेक्षा गर्छन्। अहिले पनि मोबाइल बैंकिङ, वालेट, क्यूआर र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढ्दै गएको छ।

Leave a comment