Join our Channel

मन्त्रिपरिषद् बैठकका ताजा निर्णयहरू : दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

मन्त्रिपरिषद् बैठकका ताजा निर्णयहरू : दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त

नेपाल सरकारको सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (IGP) मा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्ने छन्।

मधेस प्रदेशमा परिवर्तन

बैठकले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रवक्ता खरेलका अनुसार मधेस प्रदेशमा हाल देखिएका राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

राष्ट्रिय परिचयपत्र र जाँचबुझ आयोग

बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ।
त्यस्तै भदौ २३ र २४ को घटनाबारे गठित जाँचबुझ आयोगमा निजामती सेवा तर्फका ४ जना र नेपाल प्रहरी तर्फका ११ जना थप कर्मचारी उपलब्ध गराउने निर्णय पनि भएको छ।

नेपाल–भारत समन्वय बैठकमा सहमति

मन्त्रिपरिषद्ले भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म हुने नवौं नेपाल–भारत कोअर्डिनेशन बैठकमा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा रहेको प्रतिनिधिमण्डललाई स्वीकृति दिएको छ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा

बैठकले भूउपयोग तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ।
त्यस्तै २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खरेलले जानकारी दिएका छन्।

Leave a comment